नेपालगन्जमा शनिबार आयोजना हुने नेपालगन्ज म्याराथनको १२औं श्रृखलाको तयारी पूरा भएको छ। सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको म्याराथनको यस वर्षको संस्करणमा १२ वटा विधा समावेश गरिएको छ।
यस वर्ष १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको छ। स्थानीय बीपी चोकबाट सुरु हुने दौडमा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला, पाँच किलोमिटर महिला तथा पुरुष खुला र विद्यालयस्तरीय छात्रछात्रा दौड समावेश छन्।
त्यस्तै, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, हृवीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि सञ्चालन हुनेछन्।
४२ किलोमिटरको खुला म्याराथनमा महिलाले व्यक्तिगत समयका लागि सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले पनि समय सुधारका लागि दौडिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
४२ किलोमिटर दौडमा ४०–५०, ५०–६० र ६०–७० वर्ष उमेर समूहका धावकको छुट्टै वरियताक्रम निर्धारण गरी प्रत्येक समूहका पहिलो तीन स्थान हासिल गर्ने धावकलाई प्रोत्साहन गरिने छ।
विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिने अध्यक्ष टिएस ठकुरीले बताए।
