सामग्रीमा जानुहोस्
आइतबार, मंसिर १३, २०८३

एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियो

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् । शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान दुई गोल गरेपछि अंक बाँडेका हुन्।

प्रतियोगितामा अघिल्लो खेलमा पराजित भएको सुदूरपश्चिमलाई सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने दबाब थियो । तर एपीएफसँग बराबरीमा रोकिएसँगै सुदूरपश्चिम लिग चरणबाटै बाहिरिएको छ । दुई खेल खेलेको एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको सातौँ मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर एपीएफका गणेश पुलामीले १६औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको २६औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि विभागीय टोलीले २–१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरेको थियो । खेलको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पु¥याए।

त्यसपछि दुवै टोलीले गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए । एपीएफका सुमन श्रेष्ठले खेलको ६०औँ मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए।

यसअघि पहिलो खेलमा मधेश प्रदेशसँग पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पनि जित निकाल्न असफल भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । एपीएफले भने दुई खेलबाट सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ ।

सेयर गर्नुहोस्

1.5KShares