सामग्रीमा जानुहोस्
आइतबार, मंसिर १३, २०८३

आर्मीलाई हराउँदै एपीएफ झापा महिला गोल्डकपको उपाधि

दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि विभागीय टिम एपीएफ फुटबल क्लबले जितेको छ।

शनिबार झापाको दुधेमा भएको फाइलनमा अर्को विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै एपिएफले उपाधि जितेको हो।

उपाधिसँगै एपीएफले ११ लाख रुपैयाँ र उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपीएफका गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे। आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सके । आर्मीका यशोदा शाही र विमला थापाको प्रहार एपीएफकी गोलकिपर एञ्जिला तुम्बापोले बचाइन्।

खेलमा आर्मीले पहिलो अग्रता लिएको थियो। ३१औँ मिनेटमा सुक्रिया मियाको क्रस पासमा विमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । एपीएफका तीन डिफेन्डरलाई छक्याउँदै उनले गरेको प्रहारले जाली चुमेको थियो

एपीएफले ६०औँ मिनेटमा बराबरी गोल फर्कायो। रश्मिकुमारी घिसिङले डी–एरियाको साइड एंगलबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि एपीएफ खेलमा फर्किएको थियो।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

उत्कृष्ट गोलकिपर एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर गीता राना, उत्कृष्ट प्रशिक्षक एपीएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । विधागत उत्कृष्टलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । सर्वाधिक गोलकर्ता पनि रश्मिकुमारी घिसिङ घोषित भइन्।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी थिए।

सेयर गर्नुहोस्

1.3KShares