पल्सर स्पोर्टस अवार्ड याक एन्ड यतिमा हुने

19 Jan, 2024

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं सस्करण होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ।

नेपालको बहुप्रतिष्ठित पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्चबीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार होटल याक एन्ड यति २०औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनरको रूपमा रहनेछ ।

सम्झौतापछि महाप्रबन्धक मोनिका साइब्लावरले नेपाली खेलाडीलाई पुरस्कृत गर्ने यो प्रतिष्ठित अवार्ड कार्यक्रममा जोडिन पाउँदा गर्व लागेको बताए।

पल्सर स्पोर्ट्स अवार्ड यही माघ २८ गते हुनेछ । विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ। त्यसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको प्रतिस्पर्धामा छन्।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ।

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाउने व्यक्तित्वको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ। यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकल रहनेछ।