सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

भारतविरुद्ध नेपालको खराब ब्याटिङ, १३२ रनले पराजित

BLOEMFONTEIN, SOUTH AFRICA – FEBRUARY 02: Dev Khanal of Nepal plays a shot during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 Super Six match between India and Nepal at Mangaung Oval on February 02, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

यू–१९ विश्वकपको सुपर सिक्सका दुवै खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकाकाे ब्लोमफोन्टिनमा शुक्रबार भएको सुपर सिक्सको दोस्रो खेलमा मिडल अर्डरले खराब ब्याटिङ गरेपछि नेपाल भारतसँग १३२ रनले पराजित भयो।

यसअघि नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। यता, भारत लगातार ५ खेल जित्दै सेमिफाइनलमा पुगेको छ। अब उसले फाइनल प्रवेशका लागि घरेलु टोली दक्षिण अफ्रिकासँग खेल्नेछ।

भारतले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो। अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपालललाई राम्रो सुरुआत दिलाका थिए।

अर्जुनले ६४ बलमा २६ र दीपकले ४२ बलमा २२ रन बनाए। ६५–१को अवस्थाबाट नेपाल ७७–७को खराब अवस्थामा पुगेको थियो। नेपालले ६ विकेट १२ रन बनाउँदा गुमाएको थियो।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। देवले ५२ बलमा २ चौका प्रहार गरे। यस्तै, ११औं नम्बरका ब्याटिङका लागि आएका दुर्गेश गुप्ताले ४२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाउँदा आकाश चन्दले ३५ बलमा १८ रन बनाए। यी दुईले दसौं विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा सौमी पाण्डेले ४ तथा आर्सिन कुलकर्णीले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले २ खेलाडीको शतक मद्दतमा ५ विकेटको क्षतिमा २९७ रन बनायो। उसका लागि सचिन दास र कप्तान उदय साहरनले शतक बनाए। सचिनले सर्वाधिक ११६ रन बनाए। उनले १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान उदयले १०७ बलमा ९ चौका मद्दतमा सय रन बनाए।

६२–३को दबाबपूर्ण अवस्थाबाट उत्कृष्ट साझेदारी गर्दै यी दुई भारतीइ इनिङ सम्हालेका थिए। यी दुई चौथो विकेटका लागि २१५ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यो जारी प्रतियोगिताकै सर्वाधिक ठूलो साझेदारी हो। यस्तै, आदर्श सिंहले २१, अर्सिन कुलकर्णीले १८ र प्रियंशु मोलियाले १९ रन बनाए।

बलिङमा नेपालका लागि गुल्सन झाले ३ विकेट लिए। उनले १० ओभरमा ५६ रन खर्चिए। यस्तै, आकाश चन्दले १ विकेट लिए।

सुपर सिक्सको यो समूहको भारत लगभग सेमिफाइनल पुगिसकेको छ भने नेपाल सुपरसिक्सबाट बाहिरिसकेको छ।

1.3Kशेयर