प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिकार कीर्तिपुरस्थित टियू मैदानमा भएको विभागीय डर्बी फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित हराउँदै उपाधि जितेको हो।
पहिला ब्याटिङ गर्दै आर्मीले दिएको १८२ मध्यम लक्ष्य पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि शंकर रानाले आक्रामक इनिङ गर्दै अर्धशतक बनाए। उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए। यस्तै, अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८ र आरिफ सेखले २७ रन बनाए।
आफ्ना मुख्य बलर पहिलो ओभरमै घाइते भएपछि आर्मी दबाबमा परेको थियो। उसका जितेन्द्र मुखियाले ह्यास्ट्रिङका कारण १ ओभर मात्र बलिङ गर्न सकेका थिए। आर्मीका जितेन्द्रसँगै कुशल मल्ल, साहब आलम र बासिर अहमदले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले पुलिसलाई १८२ रनको लक्ष्य दिएको छ।
माथिल्लो क्रम पूर्ण रुपमा असफल भएपछि तल्लो क्रममका ब्याट्सम्यानले राम्रो योगदान दिएपछि टस हारेर पहिला ब्याटिङ गरेको आर्मी १ बल बाँकी छँदा १८१ रनमा आउट हुँदै सम्मानजनक योगफल बनाउन सफल भयो।
आर्मीका लागि विवेक यादवले सुझबुझपूर्ण ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ८१ बलमा ७ चौका र १ छक्का प्रहार गदैृ ६३ रन बनाए। ६९–७को खराब अवस्थामा विवेक आठौं र दसौं विकेटका लागि सोमपाल कामी र जितेन्द्र मुखियासँग उत्कृष्ट साझेदारी गरेका थिए। उनले सोमपालसँग ६१ र जितेन्द्रसँग ४३ रनको साझेदारी गरेका थिए।
सोमपालले ५८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २९ रन बनाए। यस्तै, ओपनर इमरान सेखले ६६ बलमा २८ र कुशल मल्लले ३२ बलमा १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
आर्मीलाई दबाबमा राख्ने क्रममा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान ३ विकेट लिए। ललितले १० ओभरमा २ मेडनसहित २१ रन खर्चिए भने दीपेन्द्रले ९ ओभरमा ३१ रन खर्चि। यस्तै, करण केसी, सागर ढकाल र कुशल भुर्तेलले पनि समान १ विकेट लिए।