भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरातको सामना गर्दैछ।
यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो। यस्तै, गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो।
त्रिकोणात्मक टि–२० सिरिजमा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए। बरोडा भने लिग चरणबाटै बाहिरिएको हो।
प्रतियोगिताको फाइनल भारतको वापीमा हुनेछ। नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो। अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो ।
एसीसी प्रिमियर कप र टि–२० विश्वकपको तयारीका लागि नेपाली टिम भारत भ्रणमा गएको हो।