अमेरिकामा नेपालको लगातार दोस्रो जित, उत्कृष्ट बलिङ प्रदर्शन

26 May, 2024

अमेरिकामा विश्वकपको तयारी गरिरहेको नेपाली क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा बलरहरु चम्किएपछि नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो।

ह्युस्टनविरुद्धकै पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८.३ ओभरमा ९६ रनमा अलआउट भयो। उसका लागि जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए भने इमरान खान र लाहिरु मिलान्था समान १६ रन बनाए।

ह्युस्टनको इनिङ धरासायी बनाउने क्रममा करण केसीले ३ ओभरमा १० रन मात्रै खर्चेर ३ विकेट लिए। यस्तै, सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदा रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले समान १ विकेट लिए।

प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाउँदा कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा ह्यस्टनका इमरान शेख र जिआ शाहजादले समान २ तथा कोरी ड्राई र उस्मान निवारीले समान १ विकेट लिए।

विश्वकप सुरु हुनुअघि अब नेपालले २ वार्मअप म्याच खेल्ने छ। नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग खेल्ने तालिका छ।