क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विश्वकप समीक्षा मुख्य एजेण्डा

4 Jul, 2024
Share:
117 Shares

नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन्। नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीसी टी २० विश्वकपको समिक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ।

यसैगरी सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ। सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन्। दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो।

यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ।

टियु मैदानमा रहेको जिम हल विस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका एजेन्डा तय गरिएको छ।

यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुनेछ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ।

महिलाको टी–२० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ।