नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला एसिया कपको तयारीस्वरूप श्रीलंकामै तीन अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीविरुद्ध खेल्ने पक्का भएको हो । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार खेल सरी भिलेजमा ९, १० र १६ जुलाईमा हुनेछ।
एसिसीको आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ। श्रीलंका जाने नेपाली टोलीको क्यानले शनिबार नै बिदाई गरेको छ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपाल सर्वाधिक च्याम्पियन भारत र पाकिस्तानलाई चुनौती दिने योजनामा छ।
नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ नेपालले दोस्रो खेल पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।
नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा सहभागिता जनाउँदै छ। नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो । तर, नेपाल समूह चरणबाट बढ्न सकेको छैन।
नेपाली टिम : इन्दु बर्मा (कप्तान) सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी र राजमती ऐरी ।