नेपाली क्रिकेटले पायो आईसिसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

17 Jul, 2024
Share:
117 Shares

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

आईसिसीले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्डबाट सम्मान गर्ने घोषणा गरेको हो।

फेसबुकलगायत डिजिटल माध्यममा वर्षमै ४०० प्रतिशतले फ्यानको संख्या बढेको भन्दै आईसिसीले नेपाललाई यो अवार्ड दिने निर्णय गरेको हो।

क्रिकेट खेलको विकासका लागि आइसिसी एसोसिएट सदस्यले गरेका कार्यक्रमलाई प्रोत्सहान गर्न आइसिसीले अवार्ड दिने गरेको छ।

२००२ मा सुरु भएको आइसिसी अवार्ड एसोसिएट देशमा क्रिकेटको विस्तारमा प्रोत्साहन गर्न दिने गरिन्छ। यसअघि नेपालले यहिँ विधामा एसिया क्षेत्रको अवार्ड प्राप्त गरेको थियो।

अवार्ड पाएपछि आईसिसीसँग कुरा गर्दै क्यानका सचिव पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन्।

‘यसले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भनेका छन्, ‘महिला, पुरुष दुवै खेलको प्रवर्द्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौं।’

खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई थप नजिक बनाउन भूमिका खेलेको बताएका छन् । उनले भनेका छन्, ‘यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने हाम्रो मिसन जारी राख्न प्रेरित गर्नेछ ।’