पहिलो टि–२० मा श्रीलंकामाथि भारतको जित

28 Jul, 2024

श्रीलंकाविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ। श्रीलंकाको पालेकेलेमा शनिबार राति भएको खेलमा भारतले घरेलु टोलीमाथि ४३ रनको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको २१४ रनको ठूलो लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १७० रनमै अलआउट भयो। राम्रो सुरुआत गरेपनि मध्यक्रम नचल्दा श्रीलंका पराजित भयो।

श्रीलंकाका लागि ओपनर पाथुम निशंकाले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७९ रन बनाए। यस्तै, अर्का ओपनर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्का मद्दतमा ४५ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

यी दुई बाहेक कुशल परेराले १४ बलमा २० र कामिन्दु मेन्डिसले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन। उसले पछिल्ला ९ विकेट ३० रन बनाउँदा गुमाएको थियो।

भारतका लागि रियान परागले ३ विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २१३ रन बनायो। उसका लागि कप्तान सूर्यकुमार यादवले २६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५८ रन बनाए। यस्तै, ऋषव पन्तले ३३ बलमा ६ चौका र १ छक्का मद्दतमा ४९ रन बनाए।

त्यसअघि ओपनर यशस्वी जैसवाल र शुभमन गिलले भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुई पहिलो विकेटका लागि पवारप्लेअमा ७४ रनको साझेदारी गरेका थिए। जसमा जैसवालले २१ बलमा ५ चौका र २ छक्का मद्दतमा ४० र गिलल १६ बलमा ६ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए।

बलिङमा श्रीलंकाका मथिसा पथिरानाले ४ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए। यस्तै, दिल्सान मधुसनका, असिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान १ विकेट लिए।