नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल पनि क्यानडामा जारी ग्लोबल टि–२० लिग खेलिरहेका छन्। उनी टोरन्टो नेश्नलसमा आबद्ध छन्।
सोमबार बिहान रोहितको टिम टोरन्टोले सुर्से जागुर्ससँग खेलेको थियो। जसमा खराब ब्याटिङ गरेको टोरन्टो ८० रनको फराकिलो अन्तरले पराजित भयो।
१६२ रनको लक्ष्य पछ्याएको टोरन्टो १७.१ ओभरमा ८१ रनमै अलआउट भयो। उसका लागि उन्मुक्त चन्दले सर्वाधिक २१ रन बनाउँदा रसी भान डेर डुसेनले १५ र निकोलस क्रिटोनले ११ रन बनाए।
यता, नेपाली टिमका कप्तान रोहितले २५ बलमा १० रन मात्र बनाउन सके। यो उनको फ्रेन्चाइज लिगमा पहिलो ब्याटिङ हो। अघिल्लो खेल खेले पनि उनले ब्याटिङ गर्न पाएका थिएनन्।
बलिङमा सुर्सेका सुनिल नारिन र मार्कस स्टोइनिसले समान ३ विकेट लिँदा मोहम्मद नाबीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको सुर्सेले ६ विकेटको क्षतिमा १६१ रन बनायो। उसका लागि कप्तान स्टोइनिसले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाउँदा कायल मेयर्सले २७, विरन्दीप सिंहले २३, ब्रान्डन म्याकमुलेनले १८ र नाबीले १३ रन बनाए।
बलिङमा टोरन्टोका मुहम्मद रोहिद र जुनैद सिद्दिकीले समान २ विकेट लिए।
हारपछि पनि टोरन्टो ४ अंकसहित दोस्रो स्थानमा छ भने सुर्से २ अंक जोड्दै तेस्रो स्थानमा छ।