सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरको लागतार चौथो हार

1 Aug, 2024

ग्लोबल टि–२० लिग क्यानडा खेलिरहेका दुई नेपाली क्रिकेट सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको टिम भ्यानकुभर नाइट्सले लागतार चौथो हार व्यहोरोको छ। यो हारसँगै भ्यानकुभर प्रतियोगिताको समुह चरणबाटै बाहिरिने पक्का जस्तै भएको छ।

६ टिम सहभागी प्रतियोगिताका भ्याकुभर जितबिहीन छ। समूह चरणबाट ४ टिम अघिल्लो चरणमा पुग्ने छन्।

बिहीबार बिहान भएको खेलमा भ्यानकुभर ब्राप्टन वुल्भ्ससँग ६ विकेटले पराजित भयो। पहिला ब्याटिङ गर्दै भ्यानकुभरले दिएको १५० रनको लक्ष्य ब्राप्टनले ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो।

पाँचौं विकेटका लागि बेउ वेबस्टर र निक होब्सनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जित दिलाए। वेबस्टरले ३७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४९ रन बनाए भने होब्सनले २८ बलमा १ चौका र ३ छक्का मद्दतमा ३७ रन ब बनाए।

यी दुई बाहेक कप्तान डेविड वार्नरले २० बलमा २५ रन बनाउँदा जर्ज मुन्सीले १२ बलमा २० रन बनाएका थिए।

बलिङमा भ्यानकुभरका सन्दीप लामिछाने, रिसिभ जोशी र ड्वायन प्रेटोरिसले समान १ विकेट लिए। महँगो सावित भएका सन्दीपले ३ ओभरमा ३९ रन खर्चिए। उनले ४ खेलमा ५ विकेट लिएका छन्।

यस्तै, दीपेन्द्रले राम्रो बलिङ गरेपनि विकेट भने लिन सकेनन्। जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका उनले ४ ओभरमा १८ रन खर्चिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भ्याकुभरले निकै धिमा ब्याटिङ गरेको थियो। अन्तिम ५ ओभरमा ६० रन बनाएपछि उनले ४ विकेटको क्षतिमा १४९ रनको सम्माननजक स्कोर बनाएको थियो।

उसका लागि रिचि बेरिङ्टनले सर्वाधिक ३८ रन बनाए। उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, आसिफ अलीले १७ बलमा २ चौका र ३ छक्का मद्दतमा ३६ रन बनाए।

रिजा हेन्ड्रिक्सले ३० बलमा २७, मुनिर अहमदले १९ बलमा २१ र कप्तान उसमान खवाजाले १९ बलमा १७ रनको योगदान दिए।

बलिङमा ब्राप्टनका थोमस ड्राकाले २ तथा वेबस्टर र एन्ड्रयु टाइले समन १ विकेट लिए।

जितपछि ब्राप्टन ४ खेलमा ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ।