भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय बराबरीमा

3 Aug, 2024

भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ।

कोलम्बोस्थित प्रेमदासा स्टेडिममा भएको खेलमा पहिला ब्याटिङ गर्दै श्रीलंकाले २३० रन बनाएको थियो। २३१ रनको लक्ष्य पछ्याउको भारत ४७.५ ओभरमा २३० रनमै अलआउट भयो।

यो सिरिजमा सुपरओभरको व्यवस्था नभएपछि खेल बराबरीमा सकिएको हो।

भारतका लागि कप्तान रोहित शर्माले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४७ रन बनाए। यस्तै, अक्षर पटेलले ३५, केएल राहुलले ३१, शिवम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस ऐयरले २३ रन बनाए।

बलिङमा श्रीलंकाका कप्तान चरिथ अशलंका र वानिन्द हसरंगाले समान ३ विकेट लिँदा दुनिथ वेल्लालागेले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले वेल्लालागेको अर्धशतक मद्दतमा ८ विकेटको क्षतिमा २३० रन बनाएको थियो। वेल्लालागेले ६५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६७ रन बनाएका थिए।

उनले छैठौं विकेटका लागि जनिथ लियानागेसँग ४१, सातौंविकेटका लागि हसरंगासँग ३६ र आठौं विकेटका लागि अखिला धनन्जयसँग ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

श्रीलंकाका पाथुप निसंकाले ७५ बलमा ९ चौका मद्दतमा ५६ रन बनाउँदा हसरंगाले २४, लियानागेले २० र धनन्जयले १७ रनको योगदान दिए।

बलिङमा भारतका अर्शदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिँदा मोहम्मद सिराज, शिभव दुवे, कुलदीप यादव र वासिङ्टन सुन्दरले समान १ विकेट लिए।

सिरिजको दोस्रो खेल यही मैदानमा भोलि हुनेछ।