पाकिस्तानविरुद्धको टेस्ट सिरिज बंगलादेशले गर्‍यो ‘क्लिनस्वीप’

3 Sep, 2024

पछिल्लो समय निरन्तर खराब प्रदर्शनबाट गुज्रिरहेको पाकिस्तानलाई बंगलादेशले घरमै नराम्रो धक्का दिएको छ। बंगलादेशले पाकिस्तानविरुद्धको २ खेलको टेस्ट सिरिज ‘क्लिनस्वीप’ गरेको छ।

रावलपिन्डीमा भएको दोस्रो टेस्टमा पाकिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशले सिरिज क्लिनस्वीप गरेको हो। १८४ रनको सामान्य लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा भेट्टायो।

उसका लागि जाकिर हसनले सर्वाधिक ४० रन बनाउँदा कप्तान नजमुल हसन सान्टोले ३८, मोमिनुल हकले ३४, सादमन इस्लामले २४, मुस्फिकर रहिमले २२ र सकिब अल हसनले २१ रनको योगदान दिए। बलिङमा पाकिस्तानका मिर हाज्मा, खुर्राम सहजाद र अब्रार अहमद र सलमान अघाले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङमा २७४ रन बनाएको थियो। सइम अयुबले ५८, कप्तान सान मसुदले ५७ र सलमान अघाले ५४ रन बनाएका थिए। अन्यले गतिलो योगदान दिन सकेनन्। बलिङमा बंगलादेशका मेहदी हसन मिराजले ५ तथा तस्किन अहमदले ३ विकेट लिए।

पहिलो इनिङमा बंगलादेशले २६४ रन बनायो। २६–६को नाजुक अवस्थाबाट लिटोन दास र मिराजले उत्कृष्ट साझेदारी गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए। दासले १३८ रनको पारी खेल्दा मिराजले ७८ रन बनाए। बलिङमा पकिस्तानका खुर्राम सहजादले ६ विकेट लिए।

दोस्रो इनिङमा भने पाकिस्तान १७२ रनमै अलआउट भयो। उसका सलमान अघाले सार्वधिक ४७ र मोहम्मद रिजवानले ४३ रन बनाउनु बाहेक अन्य गतिलो योगदान दिन सकेनन्। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा हसन महमुदले ५ तथा नहिद रानाले ४ विकेट लिए।

पहिलो इनिङमा शतक प्रहार गरेका दास प्लेयर अफ दी म्याच भए भने दुवै खेलमा बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका मिराज प्लेयर अफ दी सिरिज भए।