पहिलो टि–२०मा अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

12 Sep, 2024
Share:
117 Shares

तीन खेलको टि–२० सिरिजको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ। साउथह्याम्पटनमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोलीलाई २८ रनले हरायो।

पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्लयान्ड १९.२ ओभरमा १५१ रनमै अलआउट भयो। एसका लागि लइम लिभिङ्सटनले सर्वाधिक ३७ रन बनाए भने कप्तान फिल सल्टले २०, साम करणले १८ र जोर्डन कक्सले १७ रनको योगदान दिए।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सेन एबोटले ३ तथा एडम जाम्पा र जोस हेजलउडले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। उसलाई ओपनर द्वय ट्रविस हेड र म्याथु सर्टले उत्कृष्ट सुरुआत दिलाए।

हेडले ५९ रन बनाए। उनले २३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे भने सर्टले २६ बलमा ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ५.६ ओभरमा ८९ रनको विस्फोटक साझेदारी गरेका थिए।

यस्तै, जोस इंग्लिसले ३७ रन बनाए। बलिङमा इंग्ल्यान्डका लिभिङ्सटनले ३ तथा जोफ्रा आर्चर र सकिब महमुदले समान २ विकेट लिए।