दोस्रो टि–२०मा इंग्ल्यान्डले अस्ट्रेलियालाई हरायो

14 Sep, 2024

अस्ट्रेलियाविरुद्धको ३ खेलको टि–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ। शुक्रबार राति भएको खेलका इंग्ल्यान्डले लइम लिभिङ्टनको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलियालाई ३ विकेटले हरायो।

योसँगै सिरिज १–१को बराबरीमा आएको छ। पहिलो खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको थियो।

कार्डिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १९४ रनको इंग्ल्यान्डले १९ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।

उसका लागि लिििभङ्सस्टनले सर्वाधिक ८७ रन बनाए। उनले ४७ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै, जाकोब बेथहिलले २४ बलमा ४४, कप्तान फिल साल्टले २३ बलमा ३९ रनको योगदान दिए।

बलिङमा अस्ट्रेलियाका म्याथ्यु शर्टले ३ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने सन एबटले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो। उसका ज्याक फ्रेजर गमर्कले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाए।

यस्तै, जोस इङ्ग्लिसले २६ बलमा ४२ रन बनाउँदा ट्रभिस हेडले १४ बलमा ३१ रन बनाए। म्याथ्यु शर्टले २४ बलमा २८ र आरोन हार्डीले ९ बलमा २० रन बनाए ।

बलिङमा इंग्ल्यान्डका लिभिङ्स्टन र बाइडोन कार्सले समान २ विकेट लिँदा आदिल राशिद र साम करनले समान १ विकेट लिए।

दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।