क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

30 Sep, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा पहिलो जित निकालेको छ। यसअिघ लिग–२को सिरिजमा जितबिहीन रहेको नेपालले त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा जित निकालेको हो।

किङ सिटीमा आइतबार राति भएको खेलमा गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ओमानमाथि ३७ रनको फराकिलो जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमै अलआउट भयो। ओमानका शोएब खानले सर्वाधिक ४५ रन बनाए। उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै, रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५ रन बनाउँदा प्रतिक अथभले १५, खालिद कैल ११ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए भने गुलशन झा र कुशल भुर्तेलले समान २ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले पनि समान १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले उत्कृष्ट फिनिसङ गर्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित विस्फोटक रुपमा नटआउट ४० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रन बनाए।

यस्तै, कुशल मल्लले ३० रन बनाउँदा ओपनरद्वय आसिफ शेख र अनिल साहले समान २७ रन बनाए भने कुशल भुर्तेल २० रनको योगदान दिए।

बलिङमा ओमानका अकिब इलियासले ३ विकेट लिँदा सकिल अहमद, फयाज बट र जिशान मकसुदले समान १ विकेट लिए।

अब नेपालले मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।