दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अमेरिकालाई घरमै नेपालले हरायो

18 Oct, 2024
Share:
117 Shares

दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले टी–२० सिरिजको पहिलो खेलमा जित निकालेको छ।

टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको सहज जित निकाल्यो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो। उसका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने गुल्शन झा, रिजन ढकाल र करण केसीले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो।
नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए।

बलिङमा अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २ २ विकेट लिए।

सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ।