हङकङ र युएईविरुद्धको त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको घोषणा गरेको छ। क्यानले अक्टोबर १८बाट सुरु हुने सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो।
टिममा चोटका कारण एसियन गेम्स गुमाएका स्पिनर ललित राजवंशीले पुनरागमन गर्दा अर्का स्पिनर सन्दीप लामिछाने भने छैनन्। अभ्यासका क्रममा घाइते भएपछि ललितले एसियन गेम्स गुमाएका थिए। यता, सन्दीपले भने आफूमाथि लागेको मुद्दाका कारण मानसिक तनावमा रहेको भन्दै टिमबाट नाम फिर्ता लिएका थिए।
यस्तै, युव स्पिनर सूर्य तामाङ र लोकेश बमले पनि पनि नेपाल टिममा पुनरागमन गरेका छन्। एसिसी इमर्जिङ एसिया कपको टिममा रहेका सूर्य त्यसयता टिमबाट बाहिर रहँदै आएका थिए। लोकेशले गत वर्ष नेपालमै भएको त्रिकोणात्मक टि–२० सिरिजमा पिएनजीविरुद्ध नेपालका लागि अन्तिम खेल खेलेका थिए।
घरेलु मैदानमै हुने टि–२० विश्वकप छनोट तयारीका लागि आयोजना गरिएको सिरिज अक्टोबर १८ देखि २७ सम्म मुलपानी र टियू मैदानमा हुनेछ। जसमा नेपालले अक्टोबर १८मा हङकङ, अक्टोबर १९मा युएई, अक्टोबर २१मा हङकङ र अक्टोबर २३मा युएईसँग खेल्नेछ। सिरिजका समूहका खेल मुलपानी क्रिकेट मैदानमा हुने छ भने फाइलन टियू मैदानमा हुनेछ।
नेपाली टिम : रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी।