१३ वर्षीय वैभव आईपिएल अक्सनमा करोडमा बिके

26 Nov, 2024

बिहारका १३ वर्षीय वैभव सूर्यवंशी आईििपलमा आबद्ध सबैभन्दा कान्छा खेलाडी बनेका छन्। साउदी अरेबियामा आइतबार र सोमबार चलेको मेगा अक्सनबाट वैभवलाई राजस्थान रोयल्सले आफ्नो टिममा राखेको छ।

अक्सनको दोस्रो अनक्याप्ड खेलाडीको सूचीमा वैभवको नाम आएको थियो। उनको ‘बेस प्राइस’ ३० लाख थियो। यी प्रतिभाशाली युवा खेलाडीका लागि दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले टिममा राख्ने इच्छा देखाएका थिए।

यी दुई टिमबीच वैभवका लागि जुहारी चलेको थियो। अन्त्यमा बाजी राजस्थानले मा¥यो, उनका लागि राजस्थान १ करोड १० लाख खर्चन तयार भयो।

उनी आइपिएलका मात्र होइन, अक्सनकै सबैभन्दा कान्छा खेलाडी हुन्।

गत वर्ष १२ वर्षकै उमेरमा बिहारबाट रणजी खेलेपछि वैभव चर्चाका आएका थिए। उनले भारतको यू–१९ टिमबाट पनि खेलिसकेका छन्।

गत नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध खेल्दै उनले यू–१९ टिममा डेब्यू गरेका थिए। त्यहाँ उनले डेब्यू मात्र गरेनन्, विस्फोटक रुपमा शतक पनि बनाए। उनले ५८ बलमा १०४ रनको पारी खेलेका थिए।

योसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शत बनाउने खेलाडी बने । त्यो बेल उनी १३ वर्ष १८७ दिनका मात्र थिए। यसअघि यो कीर्तिमान बंगलादेशका वर्तमान कप्तान नजमुल हुसेन सान्टोको नाममा थियो।

अक्सनअघि नै वैभवले नागपुरमा रहेको राजस्थानको ‘हाइ पर्फमेन्स क्याम्प’मा ट्रायल दिएका थिए। त्यहीँबाट राजस्थानको टिम वैभवबाट प्रभावित बनेको थियो।

वैभवमा टिममा आबद्ध गरेपछि राजस्थानका सिईओ जेक लस म्याक्रमले उनी असाधारण प्रतिभा भएको खेलाडी भएको बताएका छन्।

‘उनी हाम्रो ‘हाइ पर्फमेन्स क्याम्प’ नागपुरमा आएका थिए, त्यहाँ उनले ट्रायल दिएका थिए र हाम्रो कोचिङ सेटअपलाई निकै प्रभावित पारेका थिए,’ म्याक्रमले अक्सन समाप्त भएपछि भने, ‘उनी एक असाधारण प्रतिभा हुन्, र निश्चित रूपमा तपाईंलाई यो आत्मविश्वास चाहिन्छ कि उनी आईपीएल स्तरमा उक्लन सक्छन्। उनकाे थप विकासमा मेहनत गर्छाैं। उनी अविश्वसनीय प्रतिभा हुन्, हामी उनलाई फ्रेन्चाइजको हिस्सा बनाउन पाएकोमा निकै उत्साहित छौं।’