पिएसजी बायर्नसँग पराजित, बार्सिलोना, इन्टर र लेभरकुसन विजयी

27 Nov, 2024

च्याम्पियन्स लिग फुटबलमा पिएसजी पराजित भएको छ। मंगलबार राति भएको खेलमा पिएसजी जर्मन जायन्ट बायर्न म्युनिखसँग १–०ले पारजित भयो।

एलिनाज एरिनामा भएको खेलमा बायर्नले ३८औं मिनेटमा किम मिन जीको गोलमा अग्रता लियो।

पहिलो हाफमा १ गोलले पछि परेको पिएसजी ५६औं मिनेटमा १० खेलाडीमा समेटियो। उसका उसमान डेम्बेलेले रातो कार्ड पाएका थिए। त्यसपछि ऊ दबाबमा आएको थियो। उसले खेलमा फर्कने प्रयास गरेपछि त्यो सफल हुन सकेन।

अर्को खेलमा बार्सिलोनाले सहज जित निकाल्यो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब ब्रेस्टलाई ३–०ले हरायो। उसका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा ड्यानी ओल्मोले १ गोल गरेका थिए।

यस्तै, अर्को खेलमा आत्मघाती गोल मद्दतमा इन्टर मिलान विजयी भयो। उसले जर्मन क्लब आरबी लेइपजिगमाथि १–०को जित निकाल्यो। २७औं मिनेटमा लेइपजिगका डिफेन्डर क्यास्टेलो लुकेबाले आफ्नै पोस्टम गोल गरेका थिए।

अन्य खेलमा जर्मन क्लब बायर लेभरकुसनले अस्ट्रियन क्लब आरबी साल्नबर्गमाथि ५–०को जित निकाल्दा इटालियन क्लब एट्लान्टाले योङ बोइजमाथि ६–१को फराकिलो जित निकाल्यो।