जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तान

30 Nov, 2024
Share:
117 Shares

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) भोलिबाट सुरु हुँदैछ।

८ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भीड्ने छन्।

प्रतियोगिताका लागि ८ वटै टिम तयार भइसकेका छन्। शुक्रबार टियू मैदानमा आयोजित कार्यक्रममा ८ वटै टिमका कप्तानले तयारी राम्रो भएको र विदेशी खेलाडीको मिश्रणले टिम सन्तुलित भएको बताए।

प्रतियोगितामा ८ मध्ये ७ टिमलाई मार्की खेलाडी नै कप्तानी गर्ने छन् भने जनकपुर बोल्ट्सले भने कप्तान परिवर्तन गरेको छ। आसिफ सेख मार्की खेलाडी रहेको जनकपुरले अनिल साहलाई कप्तान बनाएको छ। शुक्रबारको कार्यक्रममा पनि अनिल नै उपस्थित भए।

प्रतियोगितामा विराटनगर किंग्सलाई सन्दीप लामिछाने, चितवन राइनोजलाई कुशल मल्ल, लुम्बिनी लायन्सलाई रोहित पौडेल, काठमाडौं गुर्खाजलाई करण केसी, सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्रसिंह ऐरी र कर्णाली याक्सलाई सोमपाल कामीले कप्तानी गर्ने छन्।

कार्यक्रममा जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए। यो विशेषमा मार्की खेलाडी आसिफसँग पनि सल्लाह भएको बताए।

‘मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला। आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो। यो विषयमा टिममा कुनै मतभेद छैन,’ अनिलले भने।