आर्थिक अभाव भएपछि कोशी प्रदेशले महिला लिगको अन्तिम चरण नखेल्ने, बागमती युथ क्लबलाई माैका

4 Dec, 2024
Share:
117 Shares

कोशी प्रदेशले राष्ट्रिय महिला लिगको अन्तिम चरण नखेल्ने निर्णय गरेको छ। कोशी प्रदेशले राष्ट्रिय लिगको अन्तिम चरणमा हसभागीता जनाउन नसक्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी गराइसकेको छ।

गत भदौमा भएको राष्ट्रिय महिला लिगमा पाँचौं स्थानमा रहँदै कोशी प्रदेश अन्तिम चरण अर्थात् सुपर ५ मा छानिएको थियो। तर, उसले आर्थिक अवभाव भएपछि लिगको अन्तिम चरण नखेल्ने निर्णय गरेको हो।

कोशीको यस्तो निर्णयसँगै एन्फाले लिगमा छैटौं स्थानमा रहेको सर्लालीको बागमती युथ क्लबलाई टिम दर्ता गराउन भनेको छ। एन्फा महासचिव किरण राईले बागमति क्लबलाई पत्र लेख्दै राष्ट्रिय महिला लिगको अन्तिम चरणका लागि टिम दर्ता गराउन भनेका छन्।

‘लिगमा पाँचौं वरियतामा रहेको कोशी प्रदेशले लिगमा सहभागी हुन असमर्थ रहेको पत्र प्राप्त भएका हुँदा संघले छैठौं वरियतामा रहेको त्यस बागमति युथ क्लबको महिला टिमलाई अवसर दिने निर्णय गरेको छ । सहभागी हुन इच्छुक भएमा मंसिर २१ गतेसम्म टिम दर्ता गराउन अनुरोध गर्दछु,’ महासचिव राईले क्लबलाई लेखेको पत्रमा भनिएको छ।

महिला लिगको अन्तिम चरण मंसिर २९ देखि पौष २७ गतेसम्म हुनेछ। जसमा विभागीय टिमहरु एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका छन्।