एम्बाप्पे पेनाल्टीमा चुक्दा रियल पराजित, ९ वर्षपछि एथ्लेटिकले रियललाई हरायो

5 Dec, 2024
Share:
117 Shares

स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। बुधबार राति भएको खेलमा फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पुनः पेनाल्टीमा चुक्दा रियल एथ्लेटिक क्लबसँग २–१ले पराजित भयो। एथ्लेटिकले रियल मड्रिडमाथि ९ वर्षपछि जित निकालेको हो।

खेलका एथ्लेटिकका लागि अलेजान्द्रो बेरेनगुयर र गुर्का गुरुजेटाले गोल गरे भने रियलका जुड बेलिङ्घमले गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ५३औं मिनेटमा बेरेनगुयरले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाए। ६८औं मिनेटमा रियलले पेनाल्टी पायो। तर, एम्बाप्पेले त्यसलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार एथ्लेटिकका गोलकिपरले रोकेका थिए। एम्बाप्पे एक साता दोस्रो पटक पेनाल्टीमा गोल गर्न चुके। च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध पनि उनी गोल गर्न चुकेका थिए।

त्यसको १० मिनेटपछि रियलले बराबरी गोल फर्कायो। ७८औं मिनेटमा बेलिङघमले गोल गरेका थिए। उनले ला लिगाम लागतार चार खेलमा गोल गरेका हुन्। तर, ८० औं मिनेटमा फेडेरिको भाल्भर्डोको गल्तीमा गुरुजेटाले गोल गर्दै एथ्लेटिकलाई २–१को जित दिलाए।

यो हारपछि रियलले बार्सिलोृनासँगको दुरी १ अंकमा झार्ने अवसर गुमाएको छ। १५ खेलमा ३३ अंकसहित रियल दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ३७ अंक छ। एथ्लेटिक भने २९ अंकसहित चौथो स्थानमा छ।