सिटी बराबरीमा रोकियो, युनाइटेड पराजित

8 Dec, 2024

इंग्लिस प्रियिमर लिगमा म्याचेस्टर सिटी बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सिटीलाई क्रिस्टल प्यालेसले २–२ गोलको बराबरीमा रोकेको छ।

घरेलु मैदानमा क्रिस्टल प्यारेलका लागि ड्यानिअल मुनोज र म्यक्सनेस लाक्रोइसले गोल गरे भने सिटीका अर्लिङ हालान्ड र रिको लुइसले गोल गरेका थिए।

खेलमा दुई पटक पछि परेको अवस्थामा सिटीले बराबरी गोल गरेको हो। चौथो मिनेटमा मुनोजको गोलमा प्यालेसले अग्रता लियो। तर, ३० औं मिनेटमा गोल गर्दै हालान्डले खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ १–१को बराबरी मै सकियो। ५६औं मिनेटमा पुनः क्रिस्टल प्यालेसले अग्रता लियो। उसका लक्रोइसले गोल गरेका थिए। ६८औं मिनेटमा लुइसले गोल गर्दै सिटीलाई पुन बराबरीमा ल्याएका थिए।

८४औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो। उसका लुइसले रातो कार्ड पाएका थिए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर युनाइटेड पराजित भयो। शनिबार राति भएको खेलमा युनाइटेड घरमै नटिङहम फरेस्टसँग ३–२ले पराजित भयो।

खेलमा नटिङ्हमका निकोला मिलानकोभिक, मोर्गन गिब्स ह्वाइट र क्रिस उडले गोल गरेका थिए। भने युनाइटेडका रास्मस होइलान्ड र ब्रुनो फर्नान्डेसले गोल गरेका थिए।

अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–०ले हराउँदा ब्रेन्टफोर्डले न्युकासललाई ४–२ले हरायो।