टोटनहममाथि चेल्सीको उत्कृष्ट पुनरागमन जित

9 Dec, 2024

इंग्लिस प्रिमियर लिगमा चेल्सीले उत्कृष्ट पुनरागमन जित निकलेको छ। आइतबार राति भएको खेलमा चेल्सीले २ गोलले पछि परेको अवस्था उल्टाउँदा टोटनहमलाई उसकै मैदानमा ४–३ले हरायो।

चेल्सीलाई पुनरागमन जित दिलाउने क्रममा कोल पल्मरले २ गोल गरे भने जेडन सान्चो र इन्जो फर्नान्डेसले पनि गोल गरे। यता, टोटनहमका डोमिनिक सोलन्की, डेजन कुलुसेवेस्की र सन ह्युङ मिनले गोल गरेका थिए।

खेलमा ११ मिनेटमै टोटनहमले २ गोलको अग्रता लिएको थियो। ५औं मिनेटमा सोलन्की र ११औं मिनेटमा कुलुसेवेस्कीले गोल गरेका थिए। १७औं मिनेटमा सान्चोले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए।

पहिलो हाफमा १ गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा पुनरागमन गरेको थियो। ६१औं मिनेमा पाल्मरले प्राप्त पेनाल्टीमा गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए। त्यसपछि ७३औं मिनेटमा कप्तान फर्नान्डेसले गोल गर्दै चेल्सीलाई ३–२को अवस्थामा लाए।

८४औं पाल्मरले पुनः पेनाल्टीमा गोल गर्दै चेल्सीलाई खेलमा ४–२को बलियो अवस्थामा ल्याए। यो दुई पेनाल्टी गोलसँगै पाल्मर प्रिमियर लिगमा लगातार १२ पेनाल्टीमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि म्यान्चेस्टर सिटीका याया टाउरेले लागतार ११ पेनाल्टी गोल गरेका थिए।

इन्जुरी समयको छैठौं मिनेटमा सनले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि गोल नहुँदा खेल ४–३का सकियो।

यो जितसँगै चेल्सीले शीर्ष स्थानको लिभरपुलसँगको दुरी छोट्याएको छ। १५ खेलमा ३१ अंकसहित ऊ तालिकामा दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ। टोटनहम भने २० अंकसहित ११औं स्थानमा छ।