आगामी जनवरीमा मलेसियामा हुने महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन आएको हो।
चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाका अनुसार बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी छ। ‘आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन्,’ उनले भने।
कतिपय हवाई मार्ग हुँदै आएका छन् भने कतिपय सडकबाट आउँदै गरेको उनले बताए। बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उनले बताए।
बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ। बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्ने छ।