जनकपुरमा एनपिएल च्याम्पियनको ‘ट्रफी परेड’, खेलाडीलाई भव्य स्वागत

27 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपिएल)को च्याम्पियन टिम जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको छ।

शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशालाबाट परिसरबाट सुरु भएको ‘ट्रफी परेड’मा स्थानीयले खेलाडीहरुलाई भव्य स्वागत गरेका थिए।

बिहीबार जनकपुर पुगेको बोल्ट्स टिमले मधेश प्रदेशका विभिन्न स्थानमा ‘ट्रफी परेड’ गर्ने छ। पहिलो दिन च्याम्पियन टिमले जनकपुरधाम परिक्रमा गरेको हो।

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट बिहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरंग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विजयी र्‍यालीको शुभारम्भ गरेका थिए।

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजवंशी, शेर मल्ललगायतका खेलाडीहरू र्‍यालीमा सहभागी थिए । त्यस्तै नेपाल क्रिकेट संघका उपाध्यक्षसमेत रहेका बोल्ट्सका सञ्चालक रोशन सिंह र धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे पनि र्‍यालीमा सहभागी थिए।

धनुषा क्रिकेट संघको संयोजनमा निकालिएको र्‍यालीमा सहभागी खेलाडीहरू चढेको गाडीमा छतछतबाट पुष्पवृष्टि गरिएको छ। जनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो।