अस्ट्रेलियाका म्याट रोस बन्दैछन् नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक

23 Jan, 2025
Share:
117 Shares

इटालियन प्रशिक्षक भिन्सेन्जो अबल्र्टो एनेसको सम्झौता सकिएपछि नेपाली राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षकबिहीन छ। यसबीचमा नेपाली टिमले २ मैत्रीपूर्ण खेल खेल्यो, त्यो खेलका अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षक बनाएको थियो।

अब नेपाली राष्ट्रिय फुबटल टिमले मुख्य प्रशिक्षकका रुपमा अस्ट्रेलियन नागरिक म्याट रोसलाई पाउँदैछन्। मुख्य प्रशिक्षक बन्ने अन्तिम ५को सूचीमा रहेका रोसलाई एन्फाले छान्ने पक्का भएको छ।

केही दिनअघि मात्र एन्फाले मूख्य प्रशिक्षकको अन्तिम सूचमा रहेका रोससहित ५ उम्मेदवारको अन्तर्वार्ता लिएको थियो। त्यसैबाट एन्फाले रोसलाई मुख्य प्रशिक्षक बनाउन लागेको हो।

एन्फाले मुख्य प्रशिक्षकको औपचारिक घोषणा गर्न बाँकी रहेपनि रोस नै मुख्य प्रशिक्षक बन्ने निश्चत छ। एन्फाले पनि छलफल चलिरहेको र चाँडै औपचारिक घोषणा गरिने जनाएको छ।

मुख्य प्रशिक्षक बन्ने निश्चित भएपनि रोस नेपाल आइसकेका छन्। सभापति कप अन्तर्गत बिहीबार भएको संकटा र चर्च बोइजबीचको खेल हेर्न रोस दशरथ रंगशाला नै पुगेको थिए। त्यसैले पनि उनी नै नेपाली टिमको मुख्य प्रशिक्षक बन्ने पक्का छ।

४७ वर्षीय रोस ‘यूईएफए प्रो लाइसेन्स’ छ। पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए। उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए।

रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए। उनले चीनको यू १५ महिला टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका छन्।

उनी जर्मनीको फ्रान्कफर्ट महिला टिमको कार्यवाहक प्रशिक्षक बनेको अनुभव पनि छ। उनकै प्रशिक्षणमा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो। त्यसपछि उनले त्यहाँ २ वर्ष मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए।