नेदरल्याण्ड्सविरुद्ध सीताको ५ विकेट, नेपाललाई १४१ रनको टार्गेट

2 Feb, 2025
Share:
117 Shares

किर्तीपूरस्थित टियु ग्राउन्डमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीचको त्रिकोणात्मक टि२०आई सिरिजमा नेपाल नेदरल्याण्ड्सविरुद्ध आफ्नो दोस्रो खेल खेलिरहेको छ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण््डसले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ। कप्तान बाबेट डे लिडेको ४१ रनको मद्दतमा नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन जोडेको हो। नेदरल्याण्ड्सका लागि हिथर सिगर्सले २६ रन बनाइन् भने फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन जोडे।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट लिइन्। उनले ४ ओभरमा १२ रन मात्र दिएर ५ विकेट हात पारिन्। यो उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ फिगर हो भने, ५ विकेटको उपलब्धि दोस्रो पटक हासिल गरेकी हुन्।

यस्तै, मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता जोशीले र इन्दु वर्माले १–१ विकेट लिए।

अहिले नेपाली टिम जवाफी ब्याटिङ गरिरहेको छ। १४१ रनको लक्ष्य पछ्याइरहेको नेपाललले ७ ओभरमा ३६ रन बनाउँदा २ विकेट गुमाइसकेको छ। सम्झना खड्काले २५ बलमा २३ रन बनाएर पभेलियन फर्किइन् भने ममता चौधरीले ७ रनमात्र जोड्न सकिन्।

अहिले इन्दु वर्मा र पूजा महतो समान १–१ रन बनाएर क्रिजमा छन्।