इयू टी-२० लिगमा दीपेन्द्रले दर्ता गराए नाम

21 Jan, 2026
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्।

लिगका लागि घोषित मापदण्डअनुसार दीपेन्द्र क्याटेगोरी सी मा पर्छन् । यो क्याटेगोरीमा फुल मेम्बर र एसोसिएट दुवै देशका खेलाडी समावेश छन् भने कम्तीमा १० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको र २५ फ्रेन्चाइज टी–२० खेलको अनुभव आवश्यक पर्ने उल्लेख छ।

युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। यो प्रतियोगिता अक्टोबर २०२५ मा ब्रसेल्समा सार्वजनिक गरिएको हो र क्रिकेट बेल्जियम तथा डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीको सहकार्यमा सञ्चालन हुनेछ।

प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन्। खेलहरू सबै सहरमा हुने वा केही छानिएका मैदानमा मात्रै हुने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। यो लिग इंग्ल्यान्डको भाइटालिटी ब्लास्ट २०२६ सँग समय जुध्न सक्ने बताइएको छ।

डिसेम्बर २६ बाट सुरु भएको खेलाडी दर्ता प्रक्रियामा ४८ घण्टाभित्र २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीले नाम टिपाएपछि लिगले ध्यान खिचेको हो।

दक्षिण अफ्रिकाका रासी भान डर डुसेन, श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरङ्गा जस्ता चर्चित खेलाडीले दर्ता गराएका छन् भने पूर्व इंग्ल्यान्ड कप्तान इयोन मोर्गन लिगका ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।