आईपिएलमा हैदरावादको लगातार चाथौ हार, सिराजको घातक बलिङमा गुजरातको सानदार जित

7 Apr, 2025
Share:
117 Shares

जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा सनराइजर्स हैदरावादले लगातार चौथो हार बेहोरेको छ। खराब लयबाट गुज्रिरहेको हैदरावादको पहिलो खेलमा सानदार जित निकालेयता लागतार चार खेलमा पराजित भएको हो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा गुजरात टाइटन्सले हैदरावादलाई ७ विकेटले पराजित गर्दै आफ्नो विजयी यात्रालाई कायम राख्यो। यो गुजरातको तेस्रो लगातार जित हो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो। सुरुवात राम्रो भए पनि गुजरातका बलरहरूले कसिलो बलिङ गरेर हैदरावादको ब्याटिङ लाइनअपलाई धराशायी बनाए।

हैदरावादका लागि नितिश कुमार रेड्डीले ३१ रन र हेनरिक क्लासेनले २७ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन सकेनन्। गुजरातका मोहम्मद सिराजले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १७ रन खर्चेर हैदरावादका ओपनरहरू ट्राभिस हेड र अभिषेक शर्मालाई सस्तैमा पभेलियन फर्काए।

सिराजको यो प्रदर्शन उनको आईपीएल करियरकै उत्कृष्ट रह्यो। उनको साथमा प्रसिद्ध कृष्ण र साई किशोरले पनि २(२ विकेट लिँदै हैदरावादलाई ठूलो स्कोर बनाउनबाट रोके। हैदरावादका कप्तान प्याट कमिन्सले अन्तिमतिर ९ बलमा २२ रन बनाएर टिमको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्‍याए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले सुरुवातमा साई सुदर्शन र जोस बटलरलाई सस्तैमा गुमाए पनि कप्तान शुभमन गिल र वाशिङ्टन सुन्दरले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्‍याए।

गिलले नटआउट ६१ रन बनाए भने सुन्दरले ४९ रनको योगदान दिए। यी दुईले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरे। सुन्दर आउट भएपछि शेरफेन रदरफोर्डले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३५ रन बनाएर खेललाई २० बल बाँकी छँदै समाप्त गरे।

हैदरावादका बलरहरूले खासै प्रभाव पार्न सकेनन्। मोहम्मद शामीले २ र प्याट कमिन्सले १ विकेट लिए पनि उनीहरूको टिमको हार टार्न पर्याप्त भएन।

यो हारसँगै हैदरावादको ब्याटिङ र बलिङ दुवैमा कमजोरी स्पष्ट भएको छ। चार खेलमा चार हार बेहोरेको हैदरावादले आफ्नो रणनीतिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ।

अर्कोतर्फ, सिराजको उत्कृष्ट बलिङ र गिलको कप्तानीमा गुजरातले आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ। सिराजले खेलपछि आफ्नो प्रदर्शनको श्रेय आफ्नो फिटनेस र मानसिक तयारीलाई दिए। उनले आफ्नो गृहनगरमा खेल्दा परिवारको समर्थनले थप प्रेरणा मिलेको बताए।

यो जितले गुजरातलाई अंक तालिकाको दोस्रो स्थानमा पुर्‍याएको छ भने हैदरावादका लागि भने यो सिजन निकै चुनौतीपूर्ण बन्दै गएको छ। हैदरावादले अब आफ्नो कमजोरी सुधारेर आगामी खेलमा फर्कने प्रयास गर्नुपर्नेछ।