रोहितको टिम टोरन्टोले जित्यो ग्लोबल टि–२० लिग

12 Aug, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल टि–२० लिगको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउँदै टोरन्टोले उपाधि उचालेको हो। तर, फाइनलमा रोहितले भने खेल्न पाएनन्।

ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियलले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । टोरोन्टोको जितमा आन्द्रेस गोसले अविजित ५८ रन बनाए। रसी भान डेर डुसेनले ३० रन थपे ।

मोन्ट्रियलका अज्मतुल्लाह ओमरजाई र कार्बिन बोस्चले समान एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै मोन्ट्रियलले नौ विकेट गुमाएर ९६ रनको योगफल खडा गरेको थियो । यसअघि, मोन्ट्रियबाट कोर्विन बोस्चले सर्वाधिक ३५ रन बनाएका थिए।

टोरोन्टोका जेसन बेरेन्ड्रोफले तीन विकेट लिए। रोमारियो सेफर्डले दुई विकेट लिँदा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथिरुले समान एक विकेट लिए ।

रोहितले पहिलो पटक क्यानडाको लिग खेलेका हुन्। रोहितबाहेक यस प्रतियोगितामा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको पनि सहभागिता थियो। तर, उनीहरु सम्मिलित भान्कुभर किङ्स क्रिकेट क्लब एक खेलमात्रै जितेर प्रतियोगिताबाट बाहिरिएको थियो।