कमिन्स आईसिसीको सर्वोत्कृष्ट खेलाडी, कोहली एकदिवसी र सूर्यकुमार टि–२०को सर्वोत्कृष्ट

26 Jan, 2024

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वाधिक ठूला अवार्ड सर गर्फिल्ड सोबर्स ट्रफी फर द क्रिकेटर अफ द इयर पुरुष २०२३ को अवार्ड कमिन्सले जितेको जनाएको छ। उनले ट्रविस हेड, भारतका विराट कोहली र रविन्द्र जडेजालाई पछि पार्दै उक्त अवार्ड जितेका छन् ।

गत नोभेम्बरमा अपराजित भारतलाई फाइनलमा ६ विकेटले हराउँदै एकदिवसीय विश्वकप उपाधि जित्न कमिन्सले शानदार कप्तानी र प्रदर्शन गरेका थिए। भारतलाई हराउादै टेस्ट च्याम्पियनसिप २०२३को उपाधि दिलाउन पनि उनको भूमिका महत्वपूर्ण थियो।

भारतका विराट कोहलीले ओडीआई वर्ष खेलाडीको अवार्ड जिते। कोहलीले विश्वकप २०२३ मा शानदार प्रदर्शन गरेका थिए। उनले विश्वकपमा मात्रै ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित कुल ७६५ रन बनाएका थिए।

त्यस्तै भारतका सूर्यकुमार यादवले टी–२० वर्ष खेलाडीको अवार्ड पाएका छन्। उनी टि–२० क्रिकेटका नम्बर एक ब्याट्सम्यान पनि हुन्।

न्युजिल्यान्डका रचिन रविन्द्रले उदीयमान वर्ष खेलाडीको अवार्ड जित्दा एसोसिएट वर्ष उत्कृष्ट खेलाडीको अवार्ड नेदरल्यान्ड्सका बास डि लिडेले जिते। नेदरल्यान्डलाई विश्वकपमा पुर्याउन ग्लोबल छनोटमा उनले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए।