नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्क

18 Mar, 2024

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आइपुगेका छन्।

सोमबार दिउँसो ४ बजे बार्क नयाँ दिल्लीबाट नेपाल आएका हुन्। अध्यक्ष बार्कलाई त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनबहादुर सिंंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए।

चैत ८ गतेसम्म नेपालमा रहँदा बार्कले त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्ने छन् भने राष्ट्रिय खेलकुद परिषद् र क्यनका पदाधिकारीसँग पनि छलफल गर्ने छन्।

यस्तै, अध्यक्ष बार्कले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतसँग पनि भेट्ने कार्यक्रमम छ।

उनले यसैगरी बुधबार उनलाई फाउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने छन्।

नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको सफलतापछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेको छ । यस्तो अवस्थामा भएको आईसीसी अध्यक्ष बार्कको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

‘नेपाली क्रिकेटको विषयमा यसअघि पनि धेरै सुनेको थिएँ। आज आफ्नै आँखाले हेर्ने अवसर पनि जुरेको छ,’ विमानस्थलमा सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने।

नेपाली क्रिकेट समर्थकको प्रशंसा गर्दै उनले समर्थकहरु नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति भएको बताए।