आइसीसी अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै

18 Mar, 2024

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन्।

भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्ने छन्।

उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ।

काठमाडौं आएपछि उनीलाई क्यानले स्वागत गर्ने छ। यसैगरी मंगलबार क्यानका बोर्ड सदस्यहरुसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्ने छन्।

यसैगरी बुधबार उनलाई फाउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने छन् । यसैगरी मंगलबार नै, प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ।

उनी विहीवार विहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुने छन् । भारतमा शुक्रबारबाट सुरुहुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर आफ्नो देश फिर्ता हुने जनाइएको छ।

नेपाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलता पछि आइसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ।