एसिया कपको फाइनल खेल आज हुँदैछ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपराह्न सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका आमनेसामने हुँदैछन्।
सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई हराउँदै श्रीलंका फाइनल पुगेको थियो। सुपर फोरमा भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो।
सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो। पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको हो।
फाइनलकै निम्ति भारतले विराट कोहली, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, मोहम्मद शिराज लगायतका खेलाडीलाई बंगलादेशविरूद्ध खेलमा आराम दिएको थियो।
श्रीलंका एसिया कपको साबिक विजेता पनि हो। अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।
१९८४ देखि सुरू भएको एसिया कपको १५ औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ। श्रीलंकाले ६ पटक उपाधि जित्दा ६ पटक उपविजेता बनेको छ।
एकदिवसीय अन्तर्राष्ट्रियमा भारत र श्रीलंका १६६ पटक आमनेसामने भएका छन्। जसमध्ये भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ। एसिया कपको फाइनल खेलमा श्रीलंकालाई घरेलु दर्शकको साथ हुनेछ। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।
ओडीआईमा बंगलादेशले एघार वर्षपछि भारतमाथि जित हात पारेको हो । फाइनलअघि यो हारले आत्मविश्वासमा केही कमी आएपछि रोहित शर्माको टिम सशक्त रुपमा फाइनलमा फर्कने लक्ष्यमा छ।
फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ। श्रीलंकाका स्पिनर माहिस थिक्साना र भारतका अल राउन्डर अक्सर पटेल उपलब्ध हुने छैनन्।
आईसीसी, एसीसी र ट्राइ सिरिजसहित सबै प्रतियोगितामा दुई टोली २० औं पटक उपाधि भिडन्तमा आमनेसामने हुँदैछन् । २००२ को च्याम्पियन्स ट्रफीको फाइनल खेल वर्षाका कारण पूर्ण हुन नसक्दा यी दुवै टोली संयुक्तरुपमा विजयी घोषित भएका थिए । एसिया कपको इतिहासमा यी दुई टोलीबीचको यो आठौं फाइनल हुनेछ । अघिल्ला सात उपाधि भिडन्तमा भारतले ४ र श्रीलंकाले ३ फाइनल जितेको छ ।