लामो समयको प्रतिक्षापछि दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई उसकै घरेलु मैदान एमए चिदम्बरम स्टेडियम (चेपक) मा पराजित गरेको छ।
यो जित दिल्लीका लागि ऐतिहासिक बन्यो किनभने यो ५४८४ दिन ९लगभग १५ वर्ष० पछि चेन्नईको घरमा उसलाई हराएको हो।
आईपीएल २०२५ को यो रोमाञ्चक खेलमा दिल्लीले चेन्नईलाई २० रन हरायो।
दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा १५८ रन मात्र बनाउन सक्यो। उसका लागि विजय शंकरले ५४ बलमा ६९ रन बनाउँदा महेन्द्रसिंह धोनीले २६ बलमा ३० रन बनाए।
बलिङमा विप्राज निगमले २ तथा मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतिमा १८३ रन बनायो। उसका लागि केएल राहुलले अर्धशतक बनाए। उनले ५१ बलमा ६ चौका र ३ छक्का मद्दता ७७ रन बनाए। यस्तै, अविषेक पोरेलले ३३, ट्रिस्टन स्टब्सले २४, अक्षर पटेलले २१ र रमिर रिज्वीले २० रन बनाए।
बलिङमा चेन्नईका खलिल अहमदले २ विकेट लिँदा रविन्द्र जडेजा, मथिसा पथिराना र नूर अहमदले समान १ विकेट लिए।
दिल्लीले चेन्नईको घरमा अन्तिम पटक जित हासिल गरेको सन् २०१० मा थियो। त्यसयता चेपकमा चेन्नई सुपर किंग्सको दबदबा कायम थियो।
जारी सिजन चेन्नईको लगातार तेस्रो हार हो। पहिलो खेलमा मुम्बईलाई हराएपछि उसले जित निकाल्न सकेको छैन। यता, दिल्लीको भने यो लगातार तेस्रो जित हो। ऊ ९ अंकसहित शीर्ष स्थानमा छ।
खेलपछि दिल्लीका कप्तान अक्षर पटेलले आफ्ना लागि यो ठूलो उपब्धि भएको बताए। ‘यो हाम्रा लागि ठूलो उपलब्धि हो। चेन्नईको घरमा जित्नु सधैं चुनौतीपूर्ण हुन्छ, तर हाम्रा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे,’ उनले भने।
