समीर रिज्भीले शानदार ब्याटिङ प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्समाथि ६ विकेटको जित हासिल गरेको हो । १६३ रनको लक्ष्य दिल्लीले १८।१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
रिज्भीले ५१ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको शानदार प्रदर्शन गरे । पथुम निसान्काले ४४ रन बनाए । डेभिड मिलर २१ रनमा अविजित रहे ।
ओपनर केएल राहुल १ अनि नितिश राना शून्यमै आउट भएपछि ७ रनमै २ विकेट गुमाएर दबाबमा आएको दिल्लीका लागि समीर र पथुम मिलेर ६६ रनको साझेदारी गरे । त्यसपछि समीरले मिलरसँग मिलेर ७८ रनको साझेदारी गरेर जितको आधार तय गरे ।
मुम्बईका दीपक चहर, मिचेल सान्टनर र कर्बिन बोशले समान विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५१ रन भने रोहित शर्माले ३५ तथा नमन धीरले २८ रन बनाए। मिचेल सान्टनर १८ तथा कर्बिन बोश ११ रनमा अविजित रहे।
दिल्लीका लागि मुकेश कुमारले ३ ओभरमा २६ रन दिएर २ विकेट लिए।
लगातार दोस्रो जितसँगै ४ अंक जोडेको दिल्ली शीर्षस्थानमा उक्लिएको छ। पहिलो हार बेहोरेको मुम्बई छैटौं स्थानमा झरेको छ ।
