
आइपिएल मेगा अक्सन आज, सन्दीपमाथि लाग्ला त बाेली ?
इन्डियन प्रिमियर लिग आईपिएलको मेगा अक्सन आज हुँदै छ। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने पनि अक्सनमा रहेकाले नेपाली क्रिकेट प्रेमीको मेगा अक्सनले तान्ने छ।
नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि अक्सनका लागि भने सन्दीप मात्र छनोटमा परेका हुन् । त्यसैले यसपटक सन्दीपलाई कुन टिमले अनुबन्ध गर्ला ? सन्दीप फेरि आईपीएलमा छनोट होलान् वा नहोलान् भन्ने चासोको विषय बनेको छ ।
सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यु गरेका सन्दीपले दुई सिजन खेले । तर २०२० को सिजन भने उनी पूरा सिजन बेन्चमा रहे । त्यसपछि दिल्लीले उनलाई रिलिज गर्यो । गत सिजनको मिनी अक्सनमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेन ।
यसपटक दुई नयाँ टिम थपिनु अनि मेगा अक्सन हुनुले पनि सन्दीपलाई कुनै न कुनै टिमले अनुबन्ध गर्ने सम्भावना बढी छ ।
आईपीएल त्यस्तो प्रतियोगिता हो जुन राष्ट्रिय टिम पनि हरेक खेलाडीको दोस्रो रोजाइमा पर्छ । विश्वको सबैभन्दा चर्चित र ठूलो फ्रेन्चाइज लिग र पैसा र ग्लामर पनि उत्तिकै हुने यस लिगमा खेल्न विश्वभरका खेलाडीको चाहना हुन्छ । नेपालबाट पनि सन्दीपले त्यो अवसर पाइसकेका छन् ।
आईपीएलमा छानिनका लागि धेरै प्रतिस्पर्धा पनि हुन्छ । त्यसैले अन्य फ्रेन्चाइज लिगमा करोडमा अनुबन्ध भए पनि सन्दीपले यसपटक आईपीएल अक्सनमा आफ्नो बेस प्राइज ४० लाख भारुमात्र राखेका छन् ।
अक्सनका लागि सन्दीप ११औं सेटमा छन् भने उनको नाम ९४औं नम्बरमा छ । यस सेटमा सन्दीपबाहेक अन्य खेलाडी अनक्याप्ड बलर छन् । सन्दीपसँगै अफगानिस्तानका युवा बलर नुर अहमेद यस सेटमा छन् । बाँकी ६ खेलाडी भारतीय छन् ।
आईपीएल खेलिसकेका भारतका मुरुगन आश्विन, केसी कारिएप्पन, श्रेयास गोपाल, जगजित सुचितासहित आर साई किशोर र एम सिद्धार्थ यस सेटमा छन् ।
अक्सनका लागि १२४६ खेलाडीले नाम दर्ता गराएका थिए । त्यसमध्ये मेगा अक्नसमा ५९० खेलाडीमात्र सहभागी हुने छन्। जसमध्ये ३७० भारतीय र २२० विदेशी खेलाडी छन्।
आईपिएल अक्सनमा अस्ट्रेलियाका सर्वाधिक ४७ खेलाडी परेका छन्। यस्तै, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, न्युजिल्यान्ड र इंग्ल्यान्डका २४, श्रीलंकाका २३, अफगानिस्तानका १७, आयरल्यान्ड र बंगलादेशका ५, नामिबियाका ३, स्कटल्यान्डका २ र नेपाल, अमेरिका र जिम्बाबेका सामा १ खेलाडी अक्सनको सूचीमा छन् ।
एसोसिएटबाट ७ खेलाडी अक्सनको सूचीमा छन्। जसमा नामिबियाका सर्वाधिक ३, स्कटल्यान्डका २ तथा नेपाल, अमेरिका १ खेलाडी छन्।