मुम्बई vs बेंग्लुरू : वानखेडेमा बुमराह, बोल्ट र चहरको स्विङमा बेंग्लुरुको ब्याट्सम्यानको परीक्षा

7 Apr, 2025

आईपिएलमा आज राति दुई हेभिवेट टिम मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लुरु भीड्दै छन्। खेलमा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ। यी दुई ठूलो टिमबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यो खेल दुवै टिमका लागि महत्त्वपूर्ण छ। किनकि मुम्बई यो सिजन आफ्नो लय समात्ने प्रयासमा छ भने बेंग्लुरू आफ्नो बलियो सुरुवातलाई निरन्तरता दिँदै शीर्ष स्थानमा बलियो पकड बनाउन चाहन्छ।

स्टार बलर जसप्रित बुमराहको फिर्तीले मुम्बईको हौसला बढाएको छ, तर बेंग्लुरूको सन्तुलित टिम र आक्रामक ब्याटिङ लाइनअपले यो खेललाई निकै प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

मुम्बई इन्डियन्सको अवस्था

मुम्बईले सिजनको सुरुवात निकै कमजोर रूपमा गरेको छ। चार खेलमा उसले एक जित मात्र निकाल्न सककेको छ। टिमले पछिल्लो खेलमा लखनऊ सुपर जायन्ट्ससँग १२ रनले हार बेहोरेको थियो।

ब्याटिङ लाइनअप बलियो र विस्फोटक भएपनि मुम्बईका ब्याट्सम्यानहरु निरन्तर सङ्घर्ष गरिरहेका छन्। सुर्यकुमार यादवले ४ खेलमा १७१ रन बनाएर टिमका लागि केही आशा जगाएका छन्, तर अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन सकेका छैनन्। कप्तान हार्दिक पाण्ड्या पनि ब्याटिङमा लयमा देखिएका छैनन्, र उनको नेतृत्वमा पनि प्रश्न उठिरहेको छ।

टिमको बलिङमा पनि स्थिरता छैन, विशेषगरी पहिलो ६ ओभरमा मुम्बईले ८ विकेट गुमाएको छ। जुन सबै टिममध्ये दोस्रो सबैभन्दा खराब प्रदर्शन हो। यद्यपि, जसप्रित बुमराहको फिर्तीले टिमको बलिङमा ठूलो बल थप्ने अपेक्षा गरिएको छ। उनको अनुभव र घातक बलिङले बेंग्लुरूको बलियो ब्याटिङलाई चुनौती दिन सक्छ।

बेंग्लुरूको फर्म

बेंग्लुरूले यो सिजनमा राम्रो सुरुवात गरेको छ। ३ खेलमा २ जितसहित ४ अंक जोडेको छ। यद्यपि, पछिल्लो खेलमा गुजरात टाइटन्ससँग हारेपछि टिमको अजेय यात्रा रोकिएको छ।

बेंग्लुरूको ब्याटिङ लाइनअपमा विराट कोहली, फिल सल्ट र देवदत्त पाडिक्कलले राम्रो प्रदर्शन गरेका छन्। कोहलीले यो सिजनमा हालसम्म १५१ रन बनाएका छन्, तर उनको फर्ममा स्थिरता देखिएको छैन। टिमका कप्तान रजत पाटीदारले पनि मध्यम प्रदर्शन गरेका छन्, तर टिम डेभिड र लियाम लिभिङ्स्टनजस्ता खेलाडीहरूले मध्यक्रममा राम्रो योगदान दिइरहेका छन्।

वानखेडेको स्विङ हुने पिचमा बुमराह, ट्रेन्ट बोल्ट र दीपक चहर घातक हुन सक्छन्। उनीहरूको स्विङ सामू बेंग्लुरूको बलियो ब्याटिङ लाइनअपको असली परीक्षा हुनेछ।

बलिङमा जोश ह्याजलवुड र भुवनेश्वर कुमारले अनुभवी प्रदर्शन गर्दै आएका छन्, तर स्पिनरहरूले अझै आफ्नो प्रभाव देखाउन बाँकी छ। बेंग्लुरूले वानखेडेमा मुम्बईलाई सन् २०१५ पछि जित्न सकेको छैन, र यो खेलमा त्यो रेकर्ड तोड्ने अवसर उनीहरूका लागि छ।

पिच र मौसमको अवस्था

वानखेडे स्टेडियमको पिच परम्परागत रूपमा ब्याट्सम्यानका लागि अनुकूल मानिन्छ। यहाँको राम्रो बाउन्स र छोटो बाउन्ड्रीले ब्याट्सम्यानहरूलाई ठूला सट खेल्न सहज बनाउँछ। तर, रातो माटोको पिचले खेलको उत्तरार्धमा स्पिनरहरूलाई केही सहयोग गर्न सक्छ।

मौसमको कुरा गर्दा, मुम्बईमा आज राति तापक्रम २७ डिग्री सेल्सियस आसपास रहने अपेक्षा गरिएको छ, र वर्षाको सम्भावना निकै कम छ। रातमा ड्यु (शीत) को प्रभाव हुन सक्छ, जसले दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टिमलाई केही फाइदा दिन सक्छ।

सम्भावित प्लेइङ ११

मुम्बई इन्डियन्स : विल ज्याक्स, रायन रिकेल्टन ९विकेटकिपर०, नमन धिर, सुर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पाण्ड्या ९कप्तान०, मिचेल स्यान्टनर, राज अङ्गद बावा, जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, दीपक चाहर।

रोयल च्यालेन्जर्स बेंग्लुरू : फिल सल्ट, विराट कोहली, देवदत्त पाडिक्कल, रजत पाटीदार ९कप्तान०, लियाम लिभिङ्स्टन, जितेश शर्मा ९विकेटकिपर०, टिम डेभिड, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश ह्याजलवुड, यश दयाल।

हेड टु हेड

मुम्बई र बेंग्लुरूबीच हालसम्म ३३ खेल भएका छन्, जसमा मुम्बईले १९ खेल जितेर स्पष्ट अग्रता लिएको छ भने बेंग्लुरूले १३ खेल जितेको छ। तर, पछिल्लो एक वर्षमा बेंग्लुरूको प्रदर्शन राम्रो छ। उसले १५ खेलमा ७ जित हासिल गरेको छ, जबकि मुम्बईले १४ खेलमा मात्र ४ जित हासिल गरेको छ। वानखेडेमा मुम्बईको रेकर्ड बेंग्लुरूविरुद्ध बलियो छ, र बेंग्लुरूले यहाँ पछिल्लो १० वर्षमा जित हासिल गर्न सकेको छैन।

खेलको मुख्य पक्ष

मुम्बईका लागि जसप्रित बुमराहको फिर्तीले टिमको बलिङमा ठूलो बल थप्नेछ। उनको शुरुवाती ओभरमा विकेट लिने क्षमताले बेंग्लुरूको शीर्ष क्रमलाई दबाबमा राख्न सक्छ।

बेंग्लुरूका लागि भने विराट कोहली र फिल सल्टको ओपनिङ साझेदारी महत्त्वपूर्ण हुनेछ। मुम्बईको लयमा नरहेको ब्याटिङ लाइनअपलाई बेंग्लुरूका बलरहरूले दबाबमा राख्न सकेमा खेल उनीहरूको पक्षमा जान सक्छ। मध्य ओभरमा मुम्बईका मिचेल स्यान्टनर र बेंग्लुरूका क्रुनाल पाण्ड्याको स्पिन बलिङले खेलको दिशा निर्धारण गर्न सक्छ।

निष्कर्ष

यो खेल मुम्बईका लागि आफ्नो सिजनलाई पुनर्जनन गर्ने अवसर हो भने बेंग्लुरूका लागि आफ्नो बलियो सुरुवातलाई निरन्तरता दिने मौका। बुमराहको फिर्तीले मुम्बईलाई केही राहत दिए पनि टिमको ब्याटिङमा सुधार नभएमा उनीहरूलाई कठिन हुनेछ।

बेंग्लुरूको सन्तुलित टिम र आत्मविश्वासले उनीहरूलाई यो खेलमा हल्का अग्रता दिन्छ, तर वानखेडेमा मुम्बईको बलियो इतिहासले यो भिडन्तलाई निकै रोमाञ्चक बनाउने निश्चित छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]