नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईको दक्षिण अफ्रिकाको भिसा बुधबारसम्म आएको छैन।
नेपाली क्रिकेट टोली एक साताअघि नै आईसीसी विश्वकपको छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगिसकेको छ। तर प्रशिक्षक देसाई भने भिसा नआएर भारतमै छन्।
भोलिसम्म पनि देसाईको दक्षिण अफ्रिकाको भीसा नआएर उनलाई सिधै जिम्बाबे पठाउने क्यानले जनाएको छ। क्यानका सचिव दुर्गाबहादुर पाठकले बिहीबारसम्म भीसा नभएर विश्वकप छनोटका लागि देसाईलाई सिधै जिम्बाबे पठाइने बताए।
नेपाली टोलीले भोलि स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । मोन्टी नपुगेको खण्डमा सहायक प्रशिक्षक वसन्त शाहीले टिमको नेतृत्व सम्हाल्नेछन् । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
मोन्टी यस बिदामा अमेरिका गएका थिए । उतैबाट भिसाको प्रक्रिया अघि बढाए पनि आउन ढिलाइ भएपछि उनी भारत आएका थिए । भारतबाट पनि उनको भिसा निवेदन दिएको एक सातासम्म पनि आएको छैन ।
नेपाल विश्वकप छनोटअघि अभ्यासका लागि दक्षिण अफ्रिका पुगेको हो । नेपाल आगामी आइतबार जिम्बावे जानेछ।
नेपालले आगामी जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग प्रतिस्पर्धा गर्दै छ। नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूहमा दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, लिग टु प्रतिस्पर्धी अमेरिका, नेदरल्यान्ड्स जिम्बावे छन्।