नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको २ वर्षे सम्झौता सकिएर विदा हुन लागेका छन्। विदा हुने क्रममा उनले नेपाली क्रिकेटसँग जोडिन पाएकोमा धन्यवाद व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो सन्देश लेख्दै नेपाली टिम र फ्यानसँगको २ वर्षको सहकार्य अविष्मरणीय भएको बताएका छन्। ‘प्रिय नेपाल, यो गुडबाई होइन, हार्दिक धन्यवाद हो’, उनले लेखेका छन्।
२०२३ जनवरी १० बाट नेपाली क्रिकेटसँग सुरु भएको यात्रामा धेरै अविष्मरणीय क्षणहरु बनेका र अनेकन कोशेढुंगाहरु पार गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरेका छन्। एसिया कप छनोट र विश्वकप छनोटका क्षणहरु स्मरण गर्दै उनले फ्यानहरुको लगाव र प्रेमलाई नेपाली क्रिकेटको सबैभन्दा ठूलो शक्ति बताएका छन्।
विदाइ सन्देशमा उनले क्रिकेट खेलाडीहरुलाई हरेक बलमा लाखौं फ्यानको सपना गाँसिने भएकाले लगनशील एवं इमानदार भएर मैदानमा डट्न सुझाव दिएका छन्।
क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि उनले प्रशिक्षकको भुमिकाबाट विदा लिएका हुन्। जाँदाजाँदै उनले क्यानलाई क्रिकेटको बलियो जग बसिसकेकाले आफ्नो टिममा विश्वास गर्दै हरेक अवसरको फाइदा उठाउन सुझाएका छन्।
यस्तै, प्रशिक्षक देशाईले नेपाल आफ्नो दोस्रो घर भएको बताउँदै क्रिकेट यहाँ खेलमात्र नभएर भावनात्मक रुपमा सिंगो देशलार्य एकिकृत गर्न सफल प्यासन भएकोमा खुशी पनि व्यक्त गरेका छन्।
मोन्टीको प्रशिक्षणमा अघिल्लो वर्ष अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। उनकै प्रशिक्षणमा नेपालले दशक पछि टि २० विश्वकप खेलेको थियो। तर, आईसिसी विश्वकप लिग २ मा भने नेपालले खराब प्रदर्शन गरिरहेको छ। नेपालको एकदिवसीय मान्यता पनि जोखिममा छ। सोही कारण क्यानले उनको सम्झौता नवीकरण नगरेको हो।
