खेलाडीले प्रेसर मानेज गर्न नसक्दा हार्‍यौं : प्रशिक मोन्टी देसाई

28 Apr, 2024

टि–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आयोजना गरिएको टि–२० सिरिजको दोस्रो खेलमा नेपाल वेस्टइन्डिज एसँग १० रनले पराजित भयो।

१६१ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान रोहितकुमार पौडेलको ७१ रन बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई वेस्टइन्डिजविरुद्धको हारको मुख्यकारण प्रेसर म्यानेज गर्न नसक्नुलाई मान्छन्। उनले राम्रो साझेदारी नबन्नुलाई पनि हारको कारण माने।

‘टि–२० मा यस्तो अवस्था आइरहन्छ, हामीले यहाँबाट सिक्नुपर्छ,’ उनले भने, ‘प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भुमिका राम्रोसँग दिइएको हुन्छ, तर आज त्यसअनुसार हुन सकेन।’

प्रशिक्षक देसाईले रोहितको ब्याटिङको प्रसंशा गर्दै रोहितसँग केही साझेदारी भएको भए जित्न सकिने बताए।

पावर प्लेमा छिटै विकेट जाँदा दबाबमा आएको बताउँदै उनले लोकेशको क्र्याम्पले मोमेन्टम परिवर्तन भएको बताए।

बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद् रहेको बताए।