क्यानडामा चलेन नेपालको ब्याटिङ, क्यानडाको दोस्रो रोजाईको टिमसँग पनि पराजित

5 Oct, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले क्यानडामा छ। नेपाली टिमले आईसिसी विश्वकप लिग–२ र त्रिकोणात्मक टि–२० सिरिज खेलिसकेको छ। दुवै सिरिजमा नेपालको प्रदर्शन सम्झनलायक रहनेछ।

अझ ब्याटिङमा नेपालको प्रदर्शन निकै खराब रह्यो। दुई सिरिज पछि लिग–२० कै तेस्रो सिरिजको तयारीका लागि नेपालले क्यानडाकै दोस्रो रोजाइको टिमसँग अभ्यास खेल खेलिरहेको छ। त्यसमा पछि अघिल्ला दुई सिरिजकै ब्याटिङ लयलाई निरन्तरता दिएको छ।

अमेरिकामा हुने सिरिजका तयारीका लागि खेलिरहेको क्यानडाको हाइप्रोफेमेन्स (एचपी) सँग नेपाल ३ विकेटले पराजित भएको छ। जसमा नेपालको ब्याटिङ खराब रह्यो।

एचपीलाई नेपालले १४४ रनको सामान्य लक्ष्य दिएको थियो। त्यो लक्ष्य उसले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। उसका युवराज शर्माले ५६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अलि नदिम १४, शुभम शर्मा २९, अजयविर सिंह ९, ओलिभर कक्स १६ र गर्नेक जोहालले १७ रन बनाए।

बलिङमा नेपालका अनिल साहले १० ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए भने सोमपाल कामी, रिजन ढकाल र ललित नारायण राजवंशीले समान १ विकेट लिए

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा १४३ रनमा अल आउट भएको थियो। नेपालका अनिलले ४९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए भने अर्जुन साउदले ७२ बलमा ४ चौकासहित ३३ रन जोडे।

यी दुई बाहेक कुशल भुर्तेलले २५ र आरिफ शेख २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन विर्सन लायक रह्यो। एचपीका शाहिद अहमादजाईले ७.४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिए ।

यही टोलीसँग नेपालले मंगलबार अर्को अभ्यास खेल खेल्ने छ।