नेपाल एलाई ४ विकेटले हराउँदै क्यानडा ११ जित्यो सिरिज

22 Feb, 2024

नेपाल एविरुद्धको एकदिवसीय सिरिज क्यानडा ११ ले जितेको छ। बिहीकार मुलपानी क्रिकेट मैदानमा भएको अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै तीन खेलको सिरिज क्यानडा ११ ले २–१ले जितेको हो।

निर्णायक खेलमा नेपाल एले दिएको १८२ रनको सामान्य लक्ष्य क्यानडा ११ ले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

क्यानडाका लागि निकोल किर्तोनले ७९ बलमा नटआउट ५८ रन बनाए। यस्तै, आरोन जोनसनले ३१ बलमा ४१ रन बनाए। बलिङमा नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान १ विकेट लिए।

यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ४७ ओभरमा १८१ रनमै अलआउट भयो। अर्जुन कुमाल र आशुतोष घिरैयाले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएपछि मिडलअर्डर चल्न नसक्दा नेपाल ए सामान्य स्कोरमै रोकियो। आसुतोषले २८ र अर्जुनले २७ रन बनाए।

यस्तै, कप्तान सन्दीप जोरा र बसिर अहदले समान २४ रन बनाए भने सुजन थपलियाले २०, रासिद खान र प्रतिश जीसी समान १९ बनाए।

क्यानडाका किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २ विकेट लिएका छन् ।