एनपिएलमा सन्दीप विराटनगर, रोहित लुम्बिनी र दीपेन्द्र सुदूरपश्चिमको मार्की खेलाडी

14 Sep, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रियिमर लिग (एनपिएल)का टिमलाई मार्की खेलाडी विरतरण गरेको छ। शनिबार दिउँसो होटल म्यारिओटमा आयोजितक कार्यक्रममा क्यानले लिगका ८ टिमलाई मार्की खेलाडी वितरण गरेको हो।

क्यानले यसअघि नै मार्कीका रुपमा रहने ८ खेलाडीको घोषणा गरिसकेको थियो। जसमा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्ल छन्।

गोलाप्रथा मार्फत् क्यानले टिमलाई मार्की खेलाडी दिएको हो। गोलाप्रथामार्फत स्टार क्रिकेटर सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बन्दा राष्ट्रिय टिमका कप्तान रोहित आफ्नै क्षेत्र लुम्बिनीको मार्की खेलाडी बनेका छन्।

यस्तै, अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि आफ्नै क्षेत्रको टिम पाएका छन्। गोलाप्रथा मार्फत उनी सुदूरपश्चिमको मार्की खेलाडी चयन भए। फास्ट बलर सोमपाल कामी कर्णालीको मार्की खेलाडी चयन हुँदा अर्का फास्टबलर करण केसी काठमाडौंको मार्की खेलाडी बनेका छन्।

पोखराले ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीका रुपमा पाउँदा चितवनको मार्की खेलाडी अलराउन्डर कुशल मल्ल बनेका छन्। अर्का ओपनर आसिफ सेखले भने घरेलु टोली जनकपुरको मार्की खेलाडी बन्ने अवसर पाए।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले मार्की खेलाडीले जनही २० लाख रुपैयाँ प्राप्त गर्ने बताए। उनले चाँडै नै टिमको नाम घोषणा गरिने पनि बताए।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग नेभेम्बर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ।

एनपिएलमा अन्य खेलाडीको छनोट अक्सनमा मार्फत हुनेछ। अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी क्यानको छ।