
नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकियो
विश्वकप लिग–२ अन्तर्गतको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ। घरेलु टोली नामिबियाले दोस्रो इनिङमा ब्याटिङ सुरु गरेलगत्तै खेल रोकिएको हो।
खेल रोकिँदा १९८ रनको लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा विनाक्षति ४ रनै बनाएको छ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा अलआउट हुँदै १९७ रन बनाएको थियो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट इनिङ खेले ।
तेस्रो नम्बरमा ब्याटिङका लागि आएका उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए। एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो छैठौं अर्धशतक हो।
यस्तै, आरिफ सेखले २३, आसिफ सेखले २०, गुल्सन झा र अर्जुन साउदले समान १८ रनको योगदान दिए। आशा गरिएको ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले १० रन मात्र बनाउन सके।
नामिबियाको टांगेनी लुंगामेनीले ३ तथा कार्ल बिर्केन्टोकले २ विकेट लिए।
यो सिजजको पहिलो खेलमा नामिबिया स्कटल्यान्डसँग पराजित भएको थियो। लिग २ मा नामिबिया ३२ अंकसहित पाँचौं स्थानमा छ भने नेपाल १७ अंकसहित सातौं स्थानमा छ।